९ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा कालो चश्मा लगाएरै उपस्थित हुने बताएपछि सांसद ज्ञानेन्द्र शाहीले त्यसप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।
शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको चश्माको रंगभन्दा काम गर्ने क्षमता महत्वपूर्ण रहेको बताएका हुन्।
उनले लेखेका छन्, ‘प्रधानमन्त्रीको चस्मा कालो होस् कि सेतो, काम गरे भइहाल्यो। बिरालो कालो होस् कि सेतो, मुसा मार्न सक्नुपर्यो।’
शाहीले प्रधानमन्त्रीले लगाउने चश्माको रंगभन्दा जनताका पक्षमा काम गरेर देखाउने क्षमता आवश्यक रहेको भन्दै भनेका छन्, ‘त्यसैले कालो चश्मा कि सेतो चश्मा होइन, काम गर्ने चश्मा चाहिएको हो।’
यसअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा कालो चस्मा प्रयोग गर्न नमिल्ने र प्रयोग गर्नैपरेमा मेडिकल रिपोर्ट संसद सचिवलायमा बुझाउनुपर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार प्रधानमन्त्रीको रिपोर्ट सचिवालयमा पुगेको छ ।उज्यालोमा हेर्न असहज भएको भन्दै प्रधानमन्त्रीले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा २२ साउनमा आँखा परीक्षण गराएका थिए ।































