८ भदौ, काठमाडौँ । रास्वपा सांसद आशिका तामाङले बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले अहिलेको कानुनी व्यवस्थाले अपराधीलाई न्यायको कठघरामा उभ्याउन र समाजमा डर पैदा गर्न नसकेको बताइन्।
‘बलात्कारीलाई छुट्टै सजाय दिने कानुनमा के त्यस्तो व्यवस्था छ ? उही जेलमा जाने, ग्वामग्वाम मासुभात खाएर लामखुट्टे जस्तो सुकेको ज्यान भएको बलात्कारी अर्ना भैँसी जस्तो भएर निस्किनु बाहेक अरू ठुलो उपलब्धि मैले केही देखेको छैन,’ सांसद तामाङले भनिन् ।
उनले समाजमा बलात्कारका घटना सार्वजनिक भएपछि सडकमा कडा सजाय दे भन्ने आवाज उठ्ने गरेको स्मरण गराउँदै कडा सजायको परिभाषा स्पष्ट हुनुपर्ने बताइन् । उनले सरकारलाई तीन वटा विकल्प सुझाइन् ।
तामाङले फाँसीको व्यवस्था, फाँसीको व्यवस्था गर्न नसकिए जेल लाने तर खानपिन गर्न नदिने र माथिका दुवै व्यवस्था लागू गर्न नसके, बलात्कारीले शरीरको जुन अंग प्रयोग गरेर बलात्कार गरेको हो, सोही अंगको छेदन गर्ने कानुन ल्याउन माग गरिन् ।
सांसद तामाङले अपराधीले गरेको क्रूरता हेरेर कानुनमा परिवर्तन नगरेसम्म पीडितहरूले न्याय नपाउने उल्लेख गरिन् । ‘अपराधीले गरेको क्रूरता हेरेर कानुनको व्यवस्थामा परिवर्तन नभएसम्म बाराकी ३ वर्षीया गरिमा चौधरी र कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त जस्ता नानीहरूको आत्माले न्याय र शान्ति पाउने छैन,’ उनले भनिन् ।
उनले बलात्कार जस्तो जघन्य अपराध नियन्त्रणका लागि कुरा मात्र नभई कानुनमै कडा प्रहार आवश्यक रहेको बताइन् ।































