८ भदौ, काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पीडित परिवारलाई गृह मन्त्रालयमै बोलाएर भिडिओ खिचाएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्यले कडा आपत्ति जनाएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले सरकारको यस्तो व्यवहारमाथि प्रश्न उठाएका हुन् ।
“गरिमा चौधरीको हत्याकाण्डको विषयमा म धेरै बोल्दिनँ,” उनले भने, “तर, हामी सबैजनाले मनन गर्नुपर्ने कुरा चाहिँ हामीले कस्तो समाज बनाइरहेका छौँ जहाँ मृतकका बुवा-आमाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिन्छ र कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेका कुरा सार्वजनिक गरिन्छन् ।”
सांसद आचार्यले संसद्मा भने, “यस्तो समाज निर्माण गर्ने प्रवृत्ति तत्काल बन्द गरिनुपर्छ ।” केही दिनअघि बलात्कारपछि हत्या गरिएकी बाराकी बालिका गरिमा चौधरीका आमाबुबा न्यायको खोजीमा काठमाडौं आएका थिए । त्यसक्रममा उनीहरूले गृह मन्त्रालय पुगेर गृहमन्त्रीसँग वार्ता र सहमति गरेपछि घर फर्किएका थिए ।
सोही क्रममा गृह मन्त्रालयभित्रै गृहमन्त्रीले पीडित परिवारलाई सम्झाउँदै गरेको भिडिओ र फोटो सार्वजनिक भएका थिए । त्यसको केही समयपछि गरिमाका बुबाले सरकारको सहयोगका लागि धन्यवाद व्यक्त गरेको भिडिओसमेत बाहिरिएको थियो । आइतबारदेखि भने गरिमाको बलत्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त किशोरसँग बयान लिइरहेको भिडिओ बाहिरियो ।
सरकारले आफ्नो काम देखाउने र प्रचारबाजी गर्ने बहानामा पीडितको संवेदनशीलतालाई ख्याल नगरी भिडिओ सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमा गृहमन्त्री र सरकारको आलोचना भइरहेको छ ।































