७ भदौ, काठमाडौं । काठमाडौंमा अध्ययन गरिरहेका छोराको हत्या भएको खबर सुनेपछि उनकी आमाको पनि मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रबार कुटपिट तथा धारिलो हतियार प्रहारबाट दाङ घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको थियो।
छोराको हत्या भएको खबर सुनेपछि घोराहीको हरिद्वारस्थित जनप्रिय टोलमा रहेकी उनकी ३८ वर्षीया आमा बिना कालाथोकीको शनिबार मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार छोराको घटनाबारे जानकारी पाएपछि दिउँसो करिब ३ बजे घरमै बिनाको मृत्यु भएको परिवारले जनाएको छ।
घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट चौघेराबाट प्रहरी सहायक हवल्दार अमर गैह्रेको कमान्डमा दुई जना र जिल्ला प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक एक्कबहादुर नेपालीको नेतृत्वमा पाँच जना प्रहरी घटनास्थल पुगेका थिए।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मुचुल्का तयार पारेपछि साँझ करिब ४ बजे बिनाको शव पोस्टमर्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो। शव हाल प्रतिष्ठानकै शवगृहमा राखिएको छ।
घोराही उपमहानगरपालिका–१७ का वडाध्यक्ष रामलौटन चौधरीका अनुसार बिनाका श्रीमान रोमहर्ष कालाथोकी मलेसियामा रहेकाले उनी नेपाल फर्किएपछि मात्रै पोस्टमर्टम गरिनेछ।
वडाध्यक्ष चौधरीले छोराको हुत्याको खबर अचानक सुनाइएका कारण आमाले मानसिक रूपमा ठूलो आघात बेहोर्नुपरेको बताए। उनका अनुसार वसन्त गम्भीर बिरामी वा उपचाररत रहेको भनेर खबर गरिएको भए सम्भवतः यस्तो अवस्था नआउन सक्ने थियो।
बिनाको मृुत्युपछि उनका ११ वर्षीय कान्छा छोरा शिशिरलाई हजुरबुबाले आफ्नो घरमा लगेर राखेका छन्। वसन्त फ्रान्स जाने तयारीमा काठमाडौंमा अध्ययन गरिरहेका थिए।




























