५ भदौ, काठमाडौं । काठमाडौँको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा तीन युवकबीच कुटपिट भएको थियो। कुटपिटका क्रममा धारिलो हतियार हानाहान भएको हो।
दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी, बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलबीच कुटपिट भएको हो। कुटपिटका क्रममा वसन्त गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि मिनभवनस्थित निवामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा चोट लागेका उनी अस्पताल पुग्दा बोल्न नसक्ने अवस्थामा थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न शेखरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, अर्का युवक प्रमित भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





























