२ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज पदमुक्त गरेका हुन् ।
देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (२)मा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका सहोदर भतिजासमेत रहेका देउवा हाल अमेरिकामा छन् ।
लगातार २५ वटा बैठकमा अनुपस्थित भएपछि प्रदेशसभा नियमावलीको व्यवस्थाअनुसार सभामुखले पदमुक्त गरेका हुन् ।
सभामुखले बुधबारको बैठकमा देउवालाई पदमुक्तको जानकारी गराउने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले नेपालको संविधानको धारा (८) (घ)को व्यवस्थाअनुसार सांसद देउवालाई पदमुक्त गरिएको बताए ।
संविधानको उक्त धाराको व्यवस्थामा प्रदेशसभालाई जानकारी नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पदमुक्त हुने उल्लेख छ ।
बुधबारको बैठकमा सभामुखले प्रदेशसभा नियमावलीको नियम १९५ (१) बमोजिम सभालाई पदमुक्तसम्बन्धी जानकारी गराउने तयारी गरेका छन् ।































