२ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले बालेन सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको भन्दै आलोचना गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र जवाफदेहिता माथि गम्भीर प्रश्न उठाएका हुन्।
सांसद राईले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आ–आफ्नो जिम्मेवारी वहन गर्न नसकेको टिप्पणी गरेका छन् ।
उनले सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रण जस्ता आधारभूत विषयमा सरकार असफल रहेको दाबी गरे ।
उनले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जनताका प्रश्नहरूको दफावार उत्तर दिनुपर्ने माग समेत गरेका छन् ।
उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै सुनसरीको रामधुनी–७ स्थित ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा बस्तीवासीलाई न्याय दिन माग गरे ।
साथै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै उक्त रकम फिर्ता गराउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।






























