३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनर्गठन नहुने घोषणा गरेका छन् ।
झापा एमालेले गरेको ‘मिसन पार्टी जागरण अभियानको उद्घाटन गर्दै ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूलाई अराजक संज्ञा दिएका छन् ।
अध्यक्ष फेर्ने भन्दै अराजक गतिविधि नगर्न ओलिले चेतावनी समेत दिएका हुन् ।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने रु हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने रु पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भनेका छन्
एमाले अहिले पुनर्गठनको अवस्थामा नरहेको उनले बताए । ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौं,’ ओलीले भने ।
नेतृत्व फेर्ने प्रक्रियालाई मात्र पुनर्गठन नभनिने तर्क समेत उनले गरे ।
विगतका अध्यक्षहरूको नाम लिएर ओलीले नेतृत्व फेर्ने कुरा मात्र पुनर्गठन नभएको बताए । नीति, गन्तव्य र कार्यक्रम बदल्ने कुरा चाहिँ पुनर्गठन हुने ओलीको भनाइ थियो ।
आफ्नो नेतृत्वमा कुनै समस्या नरहेको पुष्टि गर्न ओलीले विगतका घटनाक्रमहरूको लामै व्याख्या गरेका थिए । बेलाबेला आफूविरुद्ध पार्टीभित्र गतिविधि हुने गरेको पनि ओलीले सम्झिए ।































