२८ साउन, काठमाडौं । रोल्पाको थवाङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ।
थवाङ गाउँपालिका-५ बोटलबारामा पहिरोले कमलबहादुर पुन मगरको घरसहित अरू ६ वटा घरगोठ पुरिँदा मृत्यु हुनेको संख्या ३ पुगेको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार बिहान ७ बजेपछि ७१ वर्षीया वृद्धालाई मृत अवस्थामा पहिरोबाट निकालिएको छ।
त्यसअघि १८ वर्षीया शान्ति पुन मगर र अन्दाजी ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको थियो ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगर घाइते छन्। उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको डिएसपी बाखुले जानकारी दिए।
उनका अनुसार पहिरोमा परी अझै १० जना बेपत्ता छन्। पहिरो पन्छाएर उनीहरुको खोजी भइरहेको छ।
बुधबार बेलुकी पौने ९ बजेतिर घरमाथिको डाँडोबाट पहिरो खसेपछि कमलबहादुरको घर लगायत ६ वटा घरगोठ पुरिएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय उवाबाट परिचालन भएको प्रहरी सवा १० बजे पुगेर बेपत्ताको खोज तथा उद्धार कार्य सुरु गरेको थियो































