२७ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप-३१) का लागि टर्कीबाट निमन्त्रणा आएको छ।
आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागिताका लागि प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको बताए।
ढकालका अनुसार, कोपमा सहभागिताका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमत्री शाहलाई निमन्त्रणा पठाएका हुन्।
परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको उनले जानकारी दिए। यद्यपि कुन तहबाट सहभागिता हुने भन्नेबारे जानकारी प्राप्त भइनसकेको उनको भनाइ छ।
कोप-३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुँदै छ। नेपाल सरकारले सम्मेलनमा जलवायु न्याय, हानि नोक्शानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रुपमा उठाउने तयारी गरेको छ।































