Skip

Hamro Sanchar

उपभोक्ता ग्यास नपाएर हैरान ! आयल निगम भन्छ : अभाव छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १९ गते


१९ साउन, काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।

निगमले प्रेस विज्ञप्ति जारी गर्दै दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको भए पनि विभिन्न सञ्चारमाध्यममा ग्यास अभावको समाचार आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

१४.२ केजी ग्यास सिलिन्डरको नयाँ वितरण व्यवस्था लागू भएयता केही स्थानमा गुनासो आएको भन्दै उद्योगी र विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर व्यवस्थित रूपमा वितरण गर्न निर्देशन दिएको छ।

साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिन पनि आग्रह गरिएको छ।

काठमाडौंबाट बढी माग हुने नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सगरम ग्यास र श्रीराम ग्यासका सिलिन्डर टेकुस्थित निगम कार्यालयबाट पनि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत बिक्री–वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।

ग्यास नपाए कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

निगमका अनुसार हाल मासिक औसत ४७ हजार मेट्रिक टन ग्यास खपत भइरहेको छ र मागअनुसार आपूर्ति नियमित छ।

श्रावण १ देखि १८ गतेसम्म ३१ हजार ८१६ मेट्रिक टन एलपी ग्यास आयात भइसकेको तथा बढ्दो मागलाई ध्यानमा राख्दै यस महिनाको आयात परिमाण पनि बढाइएको जनाएको छ।

काठमाडौं उपत्यकाबाहिर ग्याससम्बन्धी गुनासो भए सम्बन्धित प्रदेश कार्यालय, शाखा कार्यालय वा इन्धन डिपोमा सम्पर्क गर्न पनि निगमले अनुरोध गरेको छ।


प्रतिकृया दिनुहोस्