Skip

Hamro Sanchar

गोरखाको घ्याम्पेसालमा नयाँ सबस्टेसन सञ्चालनमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १९ गते


काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सकिएको ३३र११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ । उक्त सबस्टेसन सञ्चालनमा ल्याइएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली गुणस्तरीय र भरपर्दो हुने अपेक्षा गरिएको छ ।

उक्त आयोजनाअन्तर्गत डोटी, कैलाली, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, तनहुँ, गोरखा, म्याग्दीलगायत विभिन्न जिल्लामा ३३र११ केभी सबस्टेसन, ३३ केभी लाइन, ११ केभी फिडर तथा ४०० भोल्टको एलटी वितरण लाइन निर्माण गरिने कार्यक्रम थियो ।

अब यो सबस्टेसन सञ्चालनमा ल्याइएपछि उत्तरी गोरखाका नागरिकले ठूलो लाभ प्राप्त गर्ने नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए।

“विगत लामो समयदेखि स्थानीयबाट अवरुद्ध भएको यो सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाका ६ वटा गाउँपालिकाका १५ हजार जनताले भरपर्दो र गुणस्तरिय विद्युत् सेवा प्राप्त गर्नेछन्,” उनले भने ।

उनले अगाडि भने, “साथै, यस क्षेत्रमा निर्माणाधीन बारपाक दरौँदी हाइड्रोपावर आयोजनाबाट उत्पादन हुने १० मेगावाट विद्युत् समेत यसै सबस्टेसनको माध्यमबाट नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिनेछ ।”

यो सबस्टेसन पूर्ण रूपमा सँञलनमा ल्याइएपछि गोरखाको उत्तरी भेगका बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपभोग गर्ने आशा पलाएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले बताए ।

 


प्रतिकृया दिनुहोस्