
१७ साउन, काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा मृत भेटिएका आरोहीहरूको शव आज क्याम्प– १ मा ल्याइने भएको छ ।
आरोहीहरूको उद्धारका लागि पाकिस्तान पुगेका निर्मल पुर्जाका व्यवसायिक साझेदारसमेत रहेका सांसद मिङ्मा डेभिड शेर्पाले जानकारी दिए ।
‘आज ग्राउन्ड टिमबाट प्राप्त जानकारीअनुसार टोली हालको स्थानबाट क्याम्प– १ सम्म ल्याउने योजनामा छ’, शेर्पाले भने, ‘त्यसपछि भोलि टोली जापानी क्याम्प ल्याउने जानकारी छ । मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकप्टर सम्भावना रहेको छ ।’
निधन भएका आरोहीहरूको शवलाई सुरक्षित रूपमा घर ल्याउने अहिलेको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ । ‘उद्धार अभियानमा संलग्न सम्पूर्ण टोलीको सुरक्षा हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो । हरेक निर्णय टोलीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर लिइँदै छ’, शेर्पाले भने।
पाकिस्तानको ब्रोड पिकमा आरोहणको क्रममा नेपाली ६ जनासहित १० आरोही हिमपहिरोमा पुरिएका थिए ।






























