Skip

Hamro Sanchar

ग्यास पाउनु भएको छैन ? गर्नुहोस् यो नम्बरमा फोन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १६ गते


१६ साउन, काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

निगमले दैनिक मागअनुसार ग्यास आपूर्ति नियमित भइरहेको दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ।

निगमले असार ३१ गतेको निर्णयअनुसार १४.२ केजी क्षमताका ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था मिलाइसकेको जनाएको छ।

तर, बजारमा ग्यास अभावको गुनासो आउन थालेपछि सबै ग्यास उद्योगलाई सहज आपूर्तिको व्यवस्था गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न अनुरोध गरेको छ।

उच्च मागलाई ध्यानमा राख्दै निगमले आजदेखि टेकुस्थित कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।

त्यस्तै, ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

निगमले एलपी ग्यासको आयात र वितरण नियमित रूपमा भइरहेको उल्लेख गर्दै आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चिति नगर्न उपभोक्तासँग आग्रह गरेको छ ।

 


प्रतिकृया दिनुहोस्