Skip

Hamro Sanchar

गणेश यादवका परिवारको लागि सरकारले के गर्नेभयो ? भयो सात बुँदे सहमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १६ गते


१६ साउन, जनकपुरधाम । सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र बालेन सरकारबीच ७ बुँदे सहमति भएको छ ।

गएराति गृहमन्त्री गुरुङ मृतक यादवको घर औरही गाउँपालिका–२ तुलसियाहीमा पुगेर सहमति गरेका हुन् ।

सहमति अनुसार सरकारले यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ ।

गृहमन्त्री सुदन गुरुङ र मृतकका बुबा रामवृक्ष यादवबीच भएको सहमतिअनुसार मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ।

साथै परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गरिने, मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षा तथा बुबा(आमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

यस्तै, गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमतिमा समेटिएको छ ।

सहमतिअनुसार शुक्रबार (साउन १६)गणेश यादवको दाहसंस्कार गर्ने पनि उल्लेख गरिएको छ ।

सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।


प्रतिकृया दिनुहोस्