
१५ साउन, काठमाडौं । सुनसरीको कप्तानगञ्जमा दुई जना युवाको ज्यान ज्यानेगरी भएको घटनामा पीडित पक्ष र सरकारबीच सहमति भएको छ।
प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक र नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङबिच गएराति सम्झौता भएको हो।
सम्झौता पत्रमा गृहमन्त्री गुरुङ र ओमप्रकाशका अभिभावक कृष्णदेव र जयप्रकाशका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्।
यही साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर ओम प्रकाश मेहता र जय प्रकाश मेहताको मृत्यु भएको थियो।
सरकार र पीडित पक्षबिच भएको सम्झौता अनुसार नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउनेछ भने मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउनेछ।
घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि कानून बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाउने सहमति पनि सम्झौतामा छ।
साथै, देवानगञ्ज गाउँपालिका–३ मा रहेको मदरसाको कानूनी हैसियतबारे आवश्यक छानबिन तत्काल सुरु गरिनेछ। सरकारले दुवै मृतकका परिवारका एक९एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउनेछ। घटनाको अध्ययन गर्न गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिसहरू कानून अनुसार यथाशीघ्र कार्यान्वयन गरिनेछ।
मृतकद्वयको सम्झनामा स्थानीय सरकारको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा एक स्मृति पार्क निर्माण गर्ने सहमति समेत भएको छ।
यो सहमतिसँगै आज दिउँसो २ बजे मृतकहरूको अन्तिम संस्कार गरिने भएको छ।
सम्झौता पत्रमा गृहमन्त्री सुधन गुरुङ र मृतकद्वयका बुबाले हस्ताक्षर गरेका देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिए ।































