Skip

Hamro Sanchar

कति छन् नेपालमा बाघ ? सार्वजनिक हुँदै गणना सङ्ख्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १३ गते


१३ साउन, काठमाडौं । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९ मा मनाइन्छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो ।

तत्कालीन समयमा बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस स्थापना गरिएको हो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज मन्त्री गीता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गर्दैछ ।

नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको सङ्ख्या ३५५ रहेको छ । सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।

पछिल्ला दिनहरूमा संरक्षण क्षेत्रका साथै मध्यवर्ती क्षेत्रमा देखिएको बाघको अवस्था, बासस्थानमा भएको सुधार, सिकार प्रजातिको वृद्धिलगायतका आधारमा यस गणनामा बाघको सङ्ख्या थपिने अनुमान गरिएको छ । बाघ स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक र प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको महत्त्वपूर्ण प्रजाति हो ।

विश्वमा पाँच हजार बढी बाघ

बाघ नेपाललगायत भारत, चीन, बङ्गलादेश, भुटान, कम्बोडिया, लाओस, इन्डोनेसिया, मलेसिया, म्यान्मा, रसिया, थाइल्यान्ड र भियतनाम गरी एसियाका १३ देशमा मात्र पाइन्छ । विश्वमा सन् २०१० मा करिब तीन हजार २०० को सङ्ख्यामा रहेको बाघको सङ्ख्या सन् २०२५ को तथ्याङ्कअनुसार बढेर पाँच हजार ३५७ पुगेको छ ।

त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा ७५०, इन्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्यान्डमा १८९, भुटानमा १५१, मलेसियामा १५०, बङ्गलादेशमा १४६, म्यान्मामा २२, चीनमा २०, भियतनाममा पाँच र लाओसमा दुईवटा बाघ रहेका छन् ।

मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको सङ्ख्या सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र २०१८ मा २३५ रहेको थियो ।

सन् २०१० मा रसियामा भएको बाघ शिखर सम्मेलनबाट यसको सङ्ख्या सन् २०२२ सम्म दोब्बर बनाउने लक्ष्यअनुरूप नेपालले बाघको संरक्षण र सङ्ख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ ।

नेपालको तराई भूपरिधिका पाँचवटा राष्ट्रिय निकुञ्ज (पर्सा, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा)र वरिपरिको मध्यवर्ती तथा राष्ट्रिय वनक्षेत्र एवं जैविक मार्गमा मात्र बाघ पाइन्छ । नेपालले सन् १९९० को दशकदेखि बाघ संरक्षण कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिरहेको छ  ।


प्रतिकृया दिनुहोस्