Skip

Hamro Sanchar

अबदेखि डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ८ गते


काठमाडौं । अबदेखि डिजिटल वालेट प्रयोगकर्ताहरूले राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै भुक्तानी सेवा प्रदायक संस्थाहरूले नेपाली नागरिकको नयाँ वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखसँग विवरण रुजु गरेर मात्र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको हो ।

त्यस्तै हाल वालेट प्रयोग गरिरहेका पुराना ग्राहकहरूको हकमा भने २०८३ साल असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

वालेट कम्पनीहरूले आफ्ना ग्राहकसँग राष्ट्रिय परिचयपत्र भए वा नभएको बारे स्व–घोषणा लिनुपर्नेछ । परिचयपत्र नभएका ग्राहकहरूलाई परिचयपत्र बनाएर विवरण अद्यावधिक गर्न हरेक महिना मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्नेछ ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूका लागि भने राष्ट्र बैंकले केही सहुलियत दिएको छ । उनीहरूले विदेशबाटै अनलाइनमार्फत वालेट खोल्दा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा खाता खोल्न सक्नेछन् ।

तर, यसरी खाता खोल्ने व्यक्तिहरू नेपाल फर्किएको ३५ दिनभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण बुझाएर आफ्नो वालेट अद्यावधिक गर्नुपर्नेछ । त्यस्तै आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकहरूको हकमा भने राष्ट्रिय परिचयपत्र नभए पनि अन्य वैकल्पिक सरकारी कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न पाइने व्यवस्था गरिएको छ।


प्रतिकृया दिनुहोस्