Skip

Hamro Sanchar

बुवाको अन्त्येष्टिपछि इरानि सर्वोच्च नेता खामेनीको चेतावनी : हर हालमा बदला लिन्छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २७ गते


२७ असार, काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले आफ्ना पिता आयतुल्लाह अली खामेनीको अन्त्येष्टिपछि अमेरिका र इजरायललाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्।

आज जारी लिखित सन्देशमा उनले रगतको बदला कुनै पनि हालतमा लिइनेछू भन्दै प्रतिशोधको घोषणा गरेका हुन्।

गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त सैन्य हमलामा तत्कालीन सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित उनका परिवारका सदस्यको मृत्यु भएको थियो।

त्यसपछि उनका छोरा मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको थियो।

पिताको अन्त्येष्टिपछि जारी सन्देशमा मोजतबाले श्रद्धाञ्जली अर्पण गर्न आउने सबैप्रति आभार व्यक्त गर्दै शहीदहरूको रगतको बदला लिने प्रतिबद्धता दोहोर्‍याए।

उनले यो प्रतिशोध केवल आफ्नो व्यक्तिगत निर्णय नभई इरानी जनताको माग भएको दाबी गरे।

मोजतबाले आफूहरूसँग जिम्मेवार व्यक्तिहरूको पूर्ण सूची रहेको उल्लेख गर्दै, उनीहरूले शान्तिपूर्ण मृत्युको सपना पनि देख्न पाउने छैनन् भन्ने चेतावनी दिएका छन्। उनले आफू रहे पनि नरहे पनि प्रतिशोधको अभियान जारी रहने र विश्वभरका स्वतन्त्रताप्रेमीहरूले पनि यसमा आफ्नो भूमिका निभाउने दाबी गरेका छन्।

यद्यपि, पिताको अन्त्येष्टिमा मोजतबा खामेनी सार्वजनिक रूपमा उपस्थित भएका थिएनन्। उनी हालसम्म सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।


प्रतिकृया दिनुहोस्