Skip

Hamro Sanchar

अमेरिकालाई इरानको जवाफ : कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामा हमला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १४ गते


Advertisement

इरान । इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ। बीबीसी फारसी सेवाका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले आइतबार बिहान कुवेतस्थित अली अल–सलेम एयरबेस र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडाको मुख्यालयसँग सम्बन्धित आठ स्थानलाई निशाना बनाएर आक्रमण गरेको हो।

आईआरजीसीका अनुसार संयुक्त सैन्य अभियानअन्तर्गत ती आक्रमण गरिएको हो । यस क्रममा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरिएको जनाएको छ।

आईआरजीसीले उक्त आक्रमण हालै इरानमाथि अमेरिकाले गरेको सैन्य कारबाहीको जवाफस्वरूप गरिएको दाबी गरेको छ।  यद्यपि, अमेरिकी अधिकारीहरूले हालसम्म यसबाट भएको कुनै क्षति वा मानवीय हताहतीबारे प्रतिक्रिया दिएका छैनन्।

आईआरजीसीले यसअघि अमेरिकी सेनाले आफ्नो नौसैनिक बल र एउटा जहाजसँग भएको आमनेसामनेको घटनालाई बहाना बनाएर इरानका पाँचवटा तटीय चौकीमा आक्रमण गरेको आरोपसमेत लगाएको छ।

विज्ञप्तिमा इस्लामाबाद सम्झौताअनुसार होर्मुज जलडमरू हुँदै हुने जहाजहरूको आवतजावत नियमन गर्ने जिम्मेवारी इरानको रहेको उल्लेख गर्दै अबदेखि आफूले उल्लंघनकर्ता ठहर गरेका जहाजविरुद्ध अझ कडा कारबाही गरिने चेतावनी दिइएको छ।

आईआरजीसीले युद्धविराम उल्लंघन भए इस्लामाबाद सम्झौता कार्यान्वयनका आगामी प्रक्रिया प्रभावित हुन सक्ने चेतावनी पनि दिएको छ। यसअघि बीबीसी फारसी सेवाले कुवेती सेनाले मिसाइल र ड्रोन आक्रमण भएको पुष्टि गरेको जनाएको थियो।


प्रतिकृया दिनुहोस्