Skip

Hamro Sanchar

पाकिस्तानले गरेको हवाई आक्रमणमा परि अफगानिस्तानमा ११ बालबालिकासहित १३ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २७ गते


२७ जेठ, काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले जनाएको छ ।

मृत्यु हुनेहरूमा ११ जना बालबालिका, एक महिला र एक वृद्ध पुरुष रहेका छन् । आक्रमणमा कुनार, खोस्त र पक्तिका प्रान्तका आवासीय क्षेत्रहरूलाई निशाना बनाइएको थियो । अफगान सरकारले उक्त कारबाहीको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय नियमहरूको उल्लंघन भनेको छ ।

अफगानिस्तान र पाकिस्तानबीच सीमावर्ती क्षेत्रमा तनाव पुनः चुलिएको छ । अफगान पक्षका अनुसार गएराति पाकिस्तानी सेनाका लडाकु विमानहरूले अफगानिस्तानको हवाई सीमा उल्लंघन गरेका थिए । पाकिस्तानी सेनाले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रहेका सर्वसाधारणका घरहरूलाई लक्षित गरी बमबारी गरेको आरोप अफगानिस्तानले लगाएको छ ।

लबदष्
अफगान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदका तर्फबाट जारी गरिएको विज्ञप्तिअनुसार पाकिस्तानी सेनाले पुनः एकपटक अफगानिस्तानको सार्वभौमसत्ताको उल्लंघन गरेको छ ।

मुजाहिदका अनुसार पाकिस्तानी लडाकु विमानहरूले अफगानिस्तानका तीन प्रमुख प्रान्त—कुनार, खोस्त र पक्तिकाका आवासीय क्षेत्रहरूलाई निशाना बनाएका थिए । ती क्षेत्रमा रहेका सर्वसाधारणका घरहरूमा बमबारी गरिएकाले धेरै घरमा क्षति पुगेको बताइएको छ ।

घाइतेहरूलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ, जहाँ केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्