
काठमाडौं । गौरीबहादुर कार्की आयोग समक्ष घाइते जेनजिले आफुहरुमाथि बिना कुनै चेतावनी ताकि-ताकि गोलि प्रहार भएको बयान दिएका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजि आन्दोलनमा राज्यपक्षबाट भएको दमनका क्रममा घाइते भएकाहरुको बयान पनि आयोगले लिएको हो ।
कार्की नेतृत्वको जाँचबुझ आयोगले घटनाको छानबिन गरी तयार पारेको प्रतिवेदनमा आन्दोलनका क्रममा घाइते भएका २८ जना प्रदर्शनकारीको बयान समेटेको हो । जसमा सुरक्षाकर्मीबाट बिना चेतावनी निहत्था नागरिकमाथि ताकी-ताकी गोली प्रहार गरेको दाबी गरिएको छ ।
घाइतेहरूको बयानले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा प्रहरीले एक्कासि अश्रुग्याँस, रबर बुलेट र घातक धातुका गोली (लाइभ राउन्ड) चलाएको बताएका छन्। जसमध्ये अधिकांश घाइतेले घुँडाभन्दा माथि, छाती, पेट, टाउको र आँखामा गोली लागेको बयान दिएका छन् ।














