
काठमाडौँ । जेन्जी आन्दोलनकी अगुवा रक्षा बमले आन्दोलनसँग जोडिएका घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न र आफूहरुमाथि लागेका आरोपको जवाफ दिन प्रधानमन्त्रीसँग माग गरेकी छन् ।
हालै जेन्जी घाइतेहरुको आक्रोशको शिकार भएपछि फेरि चर्चामा आएकी बलमे प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सार्वजनिक वक्तव्य जारी गरेर आफूले जीवनभर गलत आरोपको सामना गर्न पर्ने अवस्था आउन नदिन समेत आग्रह गरेकी छन् ।
उनले पछिल्लो समय सडक र सामाजिक सञ्जालमा आफूहरूमाथि गम्भीर आरोप र दुर्व्यवहार भइरहेको भन्दै त्यसप्रति सरकार मौन बस्न नहुने उनले बताएकी छन् ।
बमले आन्दोलनमा संलग्न व्यक्तिहरूमाथि विभिन्न आरोप लगाइँदै आएको उल्लेख गर्दै ती आरोपहरूको सत्यता प्रस्ट पार्न गौरीबहादुर कार्की आयोगको आधिकारिक प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेकी छन् ।
‘हामीमाथि लागेका प्रश्नहरूको जवाफ अब व्यक्तिगत रूपमा दिन सम्भव छैन, सरकारले नै प्रतिवेदनमार्फत स्पष्ट पार्नुपर्छ,’ वक्तव्यमा भनिएको छ । बमले आन्दोलन कसरी हिंसात्मक बन्यो, गोली चलाउने आदेश कसले दियो र सिंहदरबारमा आगजनी कसरी भयो भन्नेबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् ।
उनको वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु । मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु। म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु। र म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो रु गोली चलाउने आदेश कसले दियोरु र सिंहदरबार जलाउने सलाई कसको हातमा थियोरु त्यसैले, कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। त्यो तपाईको जिम्मेवारी हो ।’
उनले आफूहरूमाथि लागेको आरोपबारे स्पष्टता खोज्दै ‘मेरो हातमा रगत लागेको छ कि छैन, म जान्न चाहन्छु,’ भन्ने प्रश्न समेत उठाएकी छन् । बमले पीडितहरूको आवाजलाई बेवास्ता नगर्न आग्रह गर्दै न्यायका लागि सरकारको जवाफदेहिता आवश्यक रहेको बताएकी छन् ।














