
काठमाडौं । दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।
उनलाई सन् २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलले घोषणा गरेको संक्षिप्त मार्सल ल कार्यान्वयनमा सहयोग गरेको अभियोगमा सो सजाय सुनाइएको हो ।
मिनविरुद्धको फैसला अदालतका फरक न्यायाधीशबाट आएको हो ।
यो राष्ट्रपति युनविरुद्ध दायर विद्रोहसम्बन्धी मुद्दामा निर्णय आउनुभन्दा एक साताअघि सार्वजनिक भएको हो । युनमाथि लागेको विद्रोहको अभियोगमा अभियोजनकर्ताहरूले मृत्युदण्डको माग गरिरहेका छन् ।
अदालतले गृह मन्त्रालयको नेतृत्व सम्हालेका मिनले मार्सल ल कार्यान्वयनमा सहयोग गरेको साथै सरकारको नीतिको आलोचना गर्ने सञ्चारमाध्यमलाई पानी र बिजुली आपूर्ति काट्न प्रहरी र अग्नि नियन्त्रक प्रमुखलाई आदेश दिएको ठहर गरेको छ ।
यद्यपि, राष्ट्रियसभाका सांसदहरूले सैन्य र प्रहरी नाकाबन्दी तोड्दै सर्वसम्मत रूपमा मार्सल ल हटाउने निर्णय गरेपछि ती निर्देशनहरू कार्यान्वयनमा जान सकेका थिएनन् ।
मिन भने सञ्चारमाध्यमहरूलाई उपयोगिता सेवा कटौती गर्न कुनै निर्देशन प्राप्त नगरेको वा जारी नगरेको दाबी गरेका थिए।
उनले राष्ट्रिय फायर एजेन्सीका पूर्वआयुक्त जनरल हेओ सेओक–गोनसहितका अधिकारीहरूको गवाही अस्वीकार गरेका थिए, जसमा उनले फोनमार्फत त्यस्ता आदेश दिएको भनिएको थियो ।
साथै, मार्सल ल घोषणा गर्ने षड्यन्त्र वा योजना बनाएको आरोप पनि उनले अस्वीकार गरे ।
मार्सल ल प्रकरणमा दोषी ठहर हुने ली युनको मन्त्रिमण्डलका दोस्रो सदस्य हुन् । यसअघि पूर्वप्रधानमन्त्री हान डक–सुलाई २३ वर्ष जेल सजाय सुनाइएको थियो, जसविरुद्ध उनले अदालतमा पुनरावेदन दिएका छन् ।

















