
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको स्मरण गरे ।
क्रिकेट स्टेडियम तीव्र गतिमा बनाउने लक्ष्य लिएपनि तोकिएको समयभन्दा अलि ढिलो हुन गएको उनले बताए ।
‘केपी शर्मा ओलीज्युले अघिल्लो कार्यकालमा प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै उहाँले भन्नुभयो र म यो क्रिकेट स्टेडियम तिब्र गतिमा बनााउँछु भनेर उद्घोष गर्नुभयो, तोकिएको समयभन्दा अलि ढिला भयो,’ उनले भने, ‘केपी ओलीले बनाइदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रश्तुत गर्ने कुलमान घिसिङले हिजो जुँगा मुसार्दै उद्घाटन गर्नुभयो ।’
शहरी विकासमन्त्री कुलमान घिसिङले आईतवार साँझ स्तरोन्नती गरिएको त्रिवि मैदानको उद्घाटनसंगै नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरेका थिए ।
सोमवारबाट नेपालमा शुरु भएको एनपीएल क्रिकेट खेलको जगतमा निकै महत्वपूर्ण भएको पनि उनको भनाइ छ ।
‘आजबाट नेपालमा एनपीएल सुरु हुँदैछ । क्रिकेट खेलको जगतमा यो प्रिमियम लिग निकै महत्वपूर्ण लिग हो । धेरै पुरानो कथा होइन, चारपाँच वर्ष अगाडिसम्म पनि क्रिकेट खेल हेर्ने दर्शकहरू कीर्तिपुरको ठूलो रुखको हाँगामा चढेर हेनुपर्थ्यो र कुन बेला हाँगो भाँचिएला र जोखिमपुर्ण दुर्घटनामा परिएला भन्ने चिन्ताले ग्रसित हुनुहुन्थ्यो,’ बस्नेतले भने ।
धरहरा, रानीपोखरी, सुरुङमार्ग लगायतका विकास निर्माणका कार्य केपी ओलीले गरेको पनि उनको दाबी छ ।






























