Skip

Hamro Sanchar

असंवैधानिक सरकार, चुनाव गराउने हक छैन : केपी ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ३० गते


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको टिप्पणी गरेका छन् । आइतबार (कात्तिक ३०)भक्तपुरको गुन्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिसँगको भेटका क्रममा उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको जिकिर गरेका हुन् ।

उनले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको बताए । एमाले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको उनले उल्लेख गरे । उनले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने स्पष्ट पारे ।

हतियार लुटिएको, धेरै कैदीबन्दी फरार रहेको समयमा निर्वाचन हुन नसक्ने उनले बताए ।

अध्यक्ष ओलीले सबैले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्नुपर्नेमा जोड दिए ।

कतिपय साथीहरूले भनेको सुनिन्छ, चुनावका लागि भाग्ने होइन नेकपा एमाले । भनिरहनुपर्छ र भन्या ? देशका सबैभन्दा ठूलो, सबैभन्दा मजबुत पार्टी चुनावबाट भाग्ने होइन, त्यस्ता लुते कुरा गरिरहनुपर्छ र रु गर्ने नै होइन नि ! चुनाव भए, हामी त चुनाव गराउन चाहन्छौँ । तर, यत्रा हतियार बाहिर, यत्रा कैदीबन्दीहरू बाहिर छन् । यस्तो सरकार ! असंवैधानिक सरकार । योसँग चुनाव गराउने केको हक ? हक नै छैन । यो अनधिकृत हो । त्यसकारण यस्तो अनधिकृत, अनुभवविहीन छ । हामी सबैले सबैका लागि विघटित प्रतिनिधिसभाको तत्काल पुनर्स्थापनाको माग जोडदार ढंगले अघि बढाउनुपर्छ । मिडियाहरू देशलाई माया गर्दछन् भने तिनका सम्पादकीय यस्तामा लेखिनुपर्छ ।


प्रतिकृया दिनुहोस्