
झापा । सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैरसंवैधानिक, गैरकानुनी र अप्रजातान्त्रिक कदमका रूपमा व्याख्या गर्दै तत्काल पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।
झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै घिमिरेले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको समाधान संसद् पुनर्स्थापना नै एक मात्र वैधानिक विकल्प भएको तर्क गरे ।
“संविधानको दायराभन्दा बाहिर गएर गरिएको संसद् विघटनले मुलुकलाई अनिश्चिततातर्फ धकेलेको छ,” उनले भने । अहिलेको पहिलो आवश्यकता संसद् पुनर्स्थापना भएको र त्यही नै वैधानिक बाटो भएको उनको भनाइ थियो ।
सभामुख घिमिरेले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चाँडो सुनुवाइ गर्दै कानुनी, व्यावहारिक तथा राष्ट्रिय आवश्यकताका आधारमा सकारात्मक फैसला गर्ने अपेक्षा व्यक्त गरे ।


















