
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा उनले यस्तो माग गरेका हुन् ।
उनले आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नगरिए दण्डहीनता मौलाउने जिकिर गरे । विभिन्न पेसा, व्यवसायमा संलग्नले सुरक्षित रूपमा काम गर्न पाउने अधिकार सुनिश्चितता गर्न उनले माग गरे । उनले नाफा आर्जन गर्नु नै अपराधका रूपमा चित्रित हुनु दुःखद भएको बताए ।
अध्यक्ष ढकालले निजी क्षेत्रले देशमा ठूलो रोजगारी सिर्जना गरेको तर यसमाथि नै हमला हुनु दुःखको विषय भएको उल्लेख गरे ।
कार्यक्रममा चन्द्रप्रसाद ढकालको भनाइ पढ्नोस्–
युवापुस्ताको आन्दोलन र मागबमोजिम मुलुकमा भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने प्रयत्नमा सरकार लागेको छ । निजी क्षेत्र पनि खरानी टकटक्याउँदै जुर्मुराउन खोजिरहेको छ । हरेक आन्दोलन वा प्रदर्शनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको विदितै छ । तर, निजी क्षेत्र विगतका आन्दोलनहरूभन्दा यसपटक बढी आहत भएको छ । जसोतसो जोहो गरेर, सरसापट गरेर, ऋण काडेर उद्यमीले लगानी गरेको हुन्छ । राजस्वमा योगदान पुर्याएको हुन्छ । रोजगारीको अवसर सिर्जना गरेको हुन्छ । तर पनि उद्यमी–व्यवसायीका शयनकक्षसम्म लुटपाट भएको छ । व्यापार–व्यवसायमा आगो लागेको छ । यो घटनाले सबैले आफैँले आफैँलाई फर्केर हेर्न पनि बाध्य पारेको छ । हामी पनि समीक्षा गर्दै छौँ हामी कहाँ चुक्यौँ रु अनि, समाज कहाँ चुक्यो रु हामीकहाँ नाफा आर्जन गर्नु नै अपराधको रूपमा चित्रित हुँदै आएको छ । तर, व्यवसायको उद्देश्य सेवा दिएर नाफा कमाउनु हो । हो, यही फरक बुझाइका कारण निजी क्षेत्रमा प्रहार हुने गरेको छ । के रोजगारी सिर्जना गर्नु, राजस्व बुझाउनु राज्यका लागि पनि महत्त्वपूर्ण होइन र रु आगजनी, तोडफोड, लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही भएन भने दण्डहीनता मौलाउँछ । कुनै पनि नाममा यसलाई प्रश्रय दिइनु हुँदैन । आज यो कार्यक्रम आयोजना गरी यसमा सम्माननीय प्रधानमन्त्रीज्यूलगायत मन्त्रीज्यूहरू, मुख्यसचिवज्यू, गभर्नरज्यू एवं उच्च सरकारी अधिकारीज्यूहरूलाई आमन्त्रण गर्नुको मुख्य उद्देश्य पनि पेसा, व्यवसाय गरी खाने वर्गले सुरक्षित रूपमा काम गर्न पाउने अधिकारको सुनिश्चितताका लागि सबैले प्रयास गरौँ भन्ने हो ।

















