
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले जेनजीले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक रहेको बताएका छन् ।
एक वक्तव्य जारी गर्दै उनले भनेका छन्– नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेनजीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ। वहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ ।
ुवर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनुपर्नेमा पनि उनले जोड दिएका छन् । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुने भट्टराईले बताए ।
यस सन्दर्भमा २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजिर भने कत्ति पनि मेल खाँदैन। त्यतिवेला विद्यमान अन्तरिम संविधान २०६३ मा राजनीतिक सहमतिका आधारमाु कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा माओवादीबिचको सहमति बुझ्नुपर्छु भनेर स्पष्टीकरण समेत त्यहीं राखिएको थियो । डा भट्टराईले भनेका छन् तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेनजी ले धेरै संवेदनशील भएर सोच्नुपर्छ ।
अहिलेको आन्दोलन भन्दा पनि ठुलो वलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेन जी को दीर्घकालीन हितमा हुने उनको भनाइ छ ।



















