
काठमाडौं । नेकपा (एमाले)ले मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद ‘जबज’को जगमा नेपाली विशेषताको समाजवाद अघि सारेको छ ।
दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै नेपाली विशेषताको समाजवादका विषयमा प्रष्ट्याएका हुन् । उनले नेपाली विशेषताको समाजवाद जबजको विकल्प नभई जबजको जगमा नै अघि बढ्ने बताएका छन् ।
अध्यक्ष ओलीले जबजको जगमा नेपाली विशेषताको समाजवादमा पुग्ने बाटो ‘समृद्ध नेपाल, सुखी नेपाली गन्तव्य’ हुने बताए । नेपाली समाजको वर्ग विश्लेषण गर्दै ओलीले भने, नेपाली विशेषताको समाजवाद जबजको जगमा अगाडि बढ्न् भनिएको हो । त्यसका लागि समृद्ध नेपाल, सुखी नेपालीलाई गन्तव्यका रूपमा अघि सारिएको हो । यसको अर्थ मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जबजलाई छोडेको होइन, सृजनात्मक प्रयोग गरिएको हो ।
समृद्धिको ‘प्यारामिटर’ सुशासन, सुरक्षा, मानवजातिलाई सम्मान परिपाटीको विधि, जैविक र मानवीय सहजता हुने अध्यक्ष ओलीले बताए ।
पार्टीले गहिर्याइमा पुगेर समाजको विश्लेषण, व्याख्या गरेको औँल्याउँदै विचारमा समयअवधि अनुसार अध्यावधिक गरेको स्पष्ट पारे । कार्यनीति, भविष्यका स्पष्ट भिजन राखेर मात्रै अघि बढ्छौँ । हामी देश, काल, परिस्थितिअनुसार सिद्धान्तका आधारमा जान्छौँ । नेतृत्व विज्ञान हो । कार्ल मार्क्सवादी सिद्धान्तलाई रुसमा लेनिन, चीनमा माओ, भियतनाममा होचिमिन्ह, कोरियामा किमइलसुङले आफ्नै मौलिक सृजनात्मक रुपमा व्याख्या र प्रयोग गरे । हामीले पनि परिपक्व र मौलिक ढंगले समाजवादी यात्रामा अघि बढ्ने कार्यक्रम अघि सारेका छौँ, ओलीले भने ।
संविधान निर्माण हुन २३ वर्षअघि एमालेले जबजको सिद्धान्त प्रतिवादन गरेको अध्यक्ष ओलीले बताए । २३ वर्षअघि जबजको सिद्धान्त प्रतिपादन गरेर वर्तमान संविधानलाई निर्देशन गरिएको हो । संविधानमा समाजवादउन्मुख छ भन्ने होइन, हामीले लेखेका हौँ,
ओलीले भने, संविधान संशोधन आवश्यक भएकाले संशोधन गर्छौं भनिसकेका छौँ । अब छिट्टै एउटा विज्ञ समूह बनाएर संशोधनको खाका तय गर्छौं । यो समय विकासक्रमको अध्यावधिक हो । पहिले जस्तो हुँदैन अबको संविधान जनताको हितमा केन्द्रित हुनेछ।

















