Skip

Hamro Sanchar

विष्णुमतीको बाढीले बगायो कार : एक महिलाको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १२ गते


काठमाडौँ । काठमाडौँको ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारलाई विष्णुमतीको बाढीले बगाएको छ । गएराति ग्राण्डिबाट बानियाटारसम्म करिब डेढ किलोमिटर कार बगेको हो ।

कारबाट प्रहरीले एकजना महिलालाई सकुशल उद्धार गरेको छ । बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कारबाट दाङ घर भएर टोखा बस्ने ३४ वर्षीया भावना वलीको उद्धार गरिएको छ ।

गएराति १० बजे भएको सो दुर्घटनाको उद्धारमा प्रहरी वृत्त महाराजगन्जका डीएसपी निरञ्जन थापा र ट्राफिक प्रहरी खटिएका थिए ।

सो कारले नम्बर नखुलेको भाडा कारलाई साइड दिने क्रममा ईभीगाडी माटोमा भासिएर खोलामा खसेको थियो । उद्धार गरिएकी महिलाको ग्रिनसिटी अस्पतालमा उपचार हुँदै छ ।

कार कञ्चनपुर घर भएर धुम्बाराही बस्ने ३५ वर्षीय अङ्कुश सिंहले चलाएका थिए । चालक आफैँ कारबाट निस्केर बाहिर आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए।


प्रतिकृया दिनुहोस्