
काठमाडौं, चैत २३- नजिकिदै गरेको नयाँ वर्ष २०८२ को अवसरमा प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जवराले शुभकामना आदान-प्रदान गरेका छन् ।
सांसद जवराले शुक्रबार साँझ संचारकर्मीहरूसँग विशेष शुभकामना आदान-प्रदान गरेका हुन् ।
उनले २०८२ को सफलताको कामना गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, आर्थिक समृद्धि र नेपाली संस्कृतिको संरक्षणलाई प्राथमिकता दिनुपर्ने भन्दै वर्तमान अवस्थामा देशले ब्यहोरेको संकटको बारेमा समेत दुःख व्यक्त गर्दै भावी दिनमा कसरी माथि उठ्न सकिन्छ भन्ने कुरालाई सरकारले न्यायिक छानबिन गर्नु पर्ने बताएका थिए ।
यस्तै जवराले गत चैत्र १५ गतेको आन्दोलन राप्रपाको आयोजना नभएको तर समर्थन रहेको भन्दै त्यस आन्दोलनमा पक्राउ परेका पार्टीका नेताहरु रविन्द्र मिश्र, धवल शमशेर राणाको निःशर्त रिहाईको माग गरेका छन् ।
नेपालका ठूला भनिएका राजनीतिक दलका गतिविधि राम्रो नभएको भन्दै उनले नेपाली जनताको हित केन्द्रित हुन नसक्नुमा दुर्भाग्य भएको बताए ।
शुभकामना व्यक्त गर्दै माननीय जबराले भने, “नेपालको राजनीति, समाज र संस्कृतिले सधैं परस्पर सद्भाव, शान्ति र समृद्धिलाई अंगालेको छ । हामीले हाम्रो मौलिक पहिचान जोगाउनु पर्छ, हाम्रो भाषा, कला र संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्छ। संचारमाध्यमहरू यस्ता अभियानमा सशक्त भूमिका खेल्न सक्छन् ।”
कार्यक्रमलाई एसएस फाउन्डेशनले आयोजना गरेको थियो । जसमा कला, संस्कृति, समाजसेवा, संचार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एसएस फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ समाजसेवी एवं गीतकार सोभित उप्रेती, वरिष्ठ संगीतकार माधवराज खरेल, साथै संचार क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, समाजसेवी, कलाकारहरुको सहभागिता रहेको थियो ।
गीतकार उप्रेतीले नेपाली गीत-संगीतको संरक्षण, प्रवर्द्धन र नविन पुस्तामा यसको प्रभावबारे धारणा राखे । उनले नयाँ वर्षको शुभकामना दिँदै युवा वर्गको भावना समेट्ने गरी काम गर्नु पर्ने बताए ।