काठमाडौं । नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे सोधपुछ गरेको छ।
गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर घटना विवरण कागज गराएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ ।
ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूको बिचमा २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको भेटिएको छ ।
प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको छ । अनुसन्धान अधिकृतहरूसँग गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको बताएका छन् ।
धनराजले मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताएका छन् । उनकी पत्नी गुरुङ र अर्का आरोपी ज्योति भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन गरेको भेटिएको छ ।