Hamro Sanchar

नेपाल संवत् नेपाली माटोको संवत् हो : प्रधानमन्त्री ओलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १७ गते


Advertisement

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् ।

नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नेपाल संवत्‌को ११४५ औँ वर्ष हो । यो हाम्रो आफ्नो संवत् हो । आफ्नो भूमिको, आफ्नो माटोको, आफ्नो जनताबाट, आफ्नै काम कारबाहीहरूबाट उब्जिएको संवत् हो । यो हाम्रो आफ्नै संवत् हो । हाम्रो आफ्नै भाषा,आफ्नै सभ्यता, आफ्नै संस्कृति, नेपाल भाषा, खास गरी उपत्यकाको नेवार सभ्यता र यहाँको संस्कृति दुनियाँका लागि असाधारण र अनुपम छ ।’

‘नेपाली संस्कृति भन्दा,नेपाली परिकार, वाद्यवादन भन्दा पहिला नेवारी संस्कृति र नेपाल भाषा आउँछ । नेवारी संस्कृति आउँछ । कक्षामा कुन कुन भाषालाई ऐच्छिक भाषामा राखिएको छ र नेवार वा नेपाल भाषालाई पनि ऐच्छिक भाषामा राख्ने भनेर मन्त्रीपरिषद्मा छलफल गर्नेछु र अरू भाषा ऐच्छिक भाषामा राखिएको छ भने नेपाल भाषालाई पनि ऐच्छिक भाषामा राख्दा कुनै नोक्सान हुँदैन । त्यसमा मेरो ध्यान गएको छ,’ उनले थपे ।

प्रधानमन्त्री ओलीले संस्कृति र सभ्यताको रक्षा गर्नुपर्ने बताए।


प्रतिकृया दिनुहोस्