
काठमाडौं, असार २४- प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मको लागि स्थगित भएको छ । तीन दलका शीर्ष नेताहरूबीच आज बैठक राख्ने तयारी भएकोमा भोलिका लागि बैठक सारिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमा आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । यसअघि प्रधानमन्त्रीकै आग्रहमा आइतबार दिउँसो एक बजे बोलाइएको बैठक दिउँसो तीन बजे बस्ने गरी सारिएको थियो ।
संसद् अवरोध खुलाउनेबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बिहान छलफल गरेका थिए । छलफलमा संसद् बैठकमा प्रधानमन्त्री दाहाललाई स्पष्टीकरण दिनका लागि सम्बोधन गर्न दिने नेताहरुबीच सहमति भएको थियो ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै आइतबार १ बजेका लागि तय भएको बैठक सोमबार ३ बजेसम्मका लागि सारिएको जानकारी गराएका छन् ।


















