
काठमाडौं, असार ८- नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खानुसरह भएको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको निगममा कर्मचारी भर्ना गर्न लागिएको भन्दै त्यसको आलोचना गरेका हुन् ।
‘वायुसेवा निगमसँग ४ वटा जहाज छन् ३ हजार कर्मचारी किन चाहियो?,’ उनले भने, ‘जुन आमाको दुध आउँदैन । आमाको दुध चुसिराख्ने ? त्यो आमाको रगत चुसे जस्तै हो । नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो। आज त्यस्तै भइरहेको छ।’
भट्टराईले कर्मचारीहरू अहिलेपनि तलब भत्ता माग गर्दै सडकमा हिँडिरहेको बताउँदै निगमलाई संरचनागत हिसाबले सुधार गर्न आवश्यक रहेको बताए ।
उनले एमाले नेतृत्वको सरकारको पालामा सर्वसाधरणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निस्कर्षमा पुगेको तर, त्यसपछिका सरकारले निजीकरण गरेको आरोप लगाए ।
उनले निगमलाई सर्वसाधरण समेतलाई शेयर निस्कासन हुनेगरी पब्लिक कम्पनीमा लैजानुपर्ने बताए ।
निगम ग्राउण्ड ह्याण्डिलिङबाट धानिएको बताउँदै सांसद भट्टराले निगमले ग्राउन्ड ह्यान्डलिङ नपाए थला पर्ने बताए ।
नेपालमा ११ वटा निजी कम्पनीका जम्मा ११ सय कर्मचारी राखेर चलाउँदा निगमले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने हो भने निगम आवश्यक नै नभएको पनि बताए ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अरु हुन नसक्ने पनि बताए ।


















