Hamro Sanchar

एनआरएनए कुवेतको अध्यक्षमा होमनाथ गिरीले उम्मेदवारी दिने, को हुन् उनी ?

प्रदिप नेपाली प्रकाशित : २०८० असार, ५ गते


काठमाडौं, असार ५- गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कुवेतका उपाध्यक्ष होमनाथ गिरीले संस्थाको आगामी नेतृत्वका लागि उम्मेदवारी दिने भएका छन् । हाम्रोसंचारसँग कुरा गर्दै गिरीले आगामी जुलाई २१ मा हुने एनआरएनए कुवेतको ८औँ अधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कुवेतमा सफल युवा तथा समाजसेवीको छवी बनाएका गिरीले यसपटकको अधिवेशनमा संस्थाको विधि, विधान र पद्धति मान्ने र नमान्नेहरुबीच लडाइँ हुने समेत बताएका छन् ।

अधिवेशनको पूर्वसन्ध्यामा गिरीले आफूलाई नेतृत्वमा ल्याउन गृहकार्य समेत थालिसकेको बताए । उनले आफूले विगतमा गरेको योगदान र कामको मुल्यांकन गर्दै यसपटक सम्पूर्ण पञ्जिकृत सदस्यहरुले आफूलाई सहयोग गर्ने विश्वाससमेत गरेका छन् । नेपाली समाजका अग्रज, बुद्धिजीवी तथा विभिन्न संघ संस्थाहरुले समेत आफूलाई समर्थन गरेको उनको भनाइ छ ।

कुवेतमा स्थापना भएदेखि नै एनआरएनएमा जोडिएका गिरी सन् २०१९ देखि निरन्तर कार्यसमितिमा छन् । गिरी सन् २०१९ देखि २०२१ सम्म उपाध्यक्ष र २०२१ देखि २०२३ सम्म पनि उपाध्यक्षकै जिम्मेवारी सम्हालीरहेका छन् ।

गिरीले कोभिड महामारीका अवधिमा कोभिड प्रभावित हजारौँ नेपालीहरुलाई उद्दार र सहयोग गरेका थिए । उक्त समयमा पनि गिरी श्रमिकका समस्याका बिषयमा खरो रुपमा उत्रने, खोप क्युआरकोड, स्वास्थ्य सामग्री तथा खाद्यान्न वितरण गर्ने कार्यमा अग्रसर हुँदै आएका थिए ।

अध्यक्षका बलियो दाबेदार मानिएका गिरी अबका दिनमा झन् शसक्त ढंगले श्रमिकका हक, हित र अधिकारका निम्ति लागि पर्ने बताउछन् ।

पछिल्लो समय राजनीति र स्वार्थ केन्द्रित तत्वहरुको हालीमुहाली हुँदा संस्था नै बद्नाम बनेको सन्दर्भ कोट्याउदै गिरीले आगामी कार्यकालको नेतृत्व पाए संस्थामा हावी बेथिति र व्यक्तिवाद अन्त्य गरी श्रमिकको हकहितमा केन्द्रित हुने बताए । तारे होटलमा केन्द्रीकृत संस्थाका विलासी गतिविधिहरुमा रोक लगाई श्रमिक माझ जाने उनको भनाइ छ ।

कुवेतमा नेपाली भाषा, संस्कृति, खानपिन र भेषभुषाको प्रवर्द्धनमा लागि पर्ने उनले बताए । अब एनआरएनएको नेतृत्वमा पुगेर संस्थालाई पूर्ण पारदर्शी बनाएर अगाडि बढाउने उनको प्रतिबद्धता रहेको छ ।

आफ्नो योगदान र कार्यक्षमताको मुल्यांकन गर्दै एनआरएनए एनसीसी (कुवेत)को आगामी कार्यकाल (२०२३-२०२५) को नेतृत्वमा पुर्‍याउन सहयोग गर्न एनआरएनएका सम्पूर्ण पञ्जिकृत सदस्यहरुलगायत सरोकारवाला सबैलाई गिरीले आग्रह गरेका छन् ।

को हुन् गिरी ?

पोखरा ३३ घर भएका होमनाथ गिरी २०६१ सालमा सुरक्षा गार्डका रूपमा काम गर्न कुवेत प्रवेश गरेका हुन् । १९ बर्षको उमेरमा परदेश हिंडेका गिरीले काम गर्न थालेको २० वर्ष भयो । यो अवधिमा उनको कामप्रतिको लगाव र इमान्दारिताले कैयौं पटक पदोन्नति भयो । उनि अलअमाना सेक्युरिटी कम्पनीको सेक्युरिटी गार्डबाट अपरेशन म्यानेजर हुँदै असिस्टेन्ट म्यानेजिङ डाइरेक्टरसम्म भएका छन् । अल वामिद जनरल एण्ड ट्रेडीङ कम्पनीको एसिस्टेन्ट म्यानेजिङ डाइरेक्टर र टप सेक्युरिटी कम्पनीको म्यानेजिङ डाइरेक्टरसम्म भएका छन् ।

जुन कम्पनीमा १३ सय नेपालीसहित अन्य देशका ४ सय गरि १७ सय जना कामदारले रोजगारी पाइरहेका छन् ।

नेपालका विभिन्न विद्यालय, मठ-मन्दिर, अनाथालय तथा खेलकुदका क्षेत्रमा व्यक्तिगत तथा संस्थागत सहयोग जुटाउने अभियानमा सक्रिय गिरीले कोरोना महामारीका अवधिमा अलपत्र परेका नेपालीहरुलाई नेपाली राजदुतावासको आग्रहमा आफ्नै कम्पनीको विल्डिङमा सेल्टर बनाइ खान र बस्नको व्यवस्था गरिदिएका थिए । एनआरएनको सहयोगमा लकडाउन भएको क्षेत्रमा स्पेसल पास बनाएर खाद्यान्न वितरण गर्ने कार्यमा सक्रिय गिरी कुवेतबाट छुट्टीमा नेपाल आएर क्युआरकोड ‘खोप’को व्यवस्था नहुँदा जागिर गुम्ने नेपाली श्रमिकका सारथी बनेका थिए । यस्तै उनले इराकमा फसेका नेपालीहरुलाई टिकटको व्यवस्था गर्दै राजदुतावासको सहकार्यमा स्वदेश फर्काउन सहयोग गरेका थिए ।


प्रतिकृया दिनुहोस्