Hamro Sanchar

नक्कली भुटानी शरणार्थी पीडित राजकुमार रेग्मी भन्छन्– कयौं पटक आत्महत्याको प्रयास गरे

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी प्रकाशित : २०८० जेठ, २१ गते


काठमाडौं, जेठ २१- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले थुनचेक बहसमा आफूलाई पानीमाथिको ओभानो भएको दाबी गरिरहँदा पीडितहरु भने न्यायका लागि हारगुहार गरिरहेका छन् । घरखेत बन्धक, साहु काढेर चर्को व्याजदरमा ल्याएको ऋणका कारण कोही मानसिक रोगी भइसकेका छन् भने कतिको घरबास उठेको छ । उनीहरु आफ्नो लगानी असुल उपर नभएको अवस्थामा आत्मदाहको विकल्प नभएकोसम्म बताउन थालेका छन् ।

दाङका राजकुमार रेग्मी अहिले डिप्रेसनको औषधि खान्छन् । कयौं पटक आत्महत्याको तयारी गरिसकेको बताउने उनी अहिले उच्च रक्तचाप, डिप्रेसनका कारण नियमित औषधि खानुपरेको बताउँछन् । भुटानी शरणार्थी प्रकरण सुरु हुनुअघिसम्म स्वस्थ रहेको बताउने रेग्मी ऋणको बोझले घर जाने अवस्था नरहेको बताउँछन् । अरु दलालहरुले उठाएको रकम दवाव थेग्न नसकेपछि आंशिक भएपनि दिएको सुनेका रेग्मी दाङबासीमार्फत उठेको १५ करोड रकम सन्देश शर्माले एक पैसा फिर्ता नगरेको बताउँछन् । रेग्मी राज्य संरक्षित अपराधीलाई अदालतले छुट दिए आत्मदाह गर्नुको विकल्प नभएको बताउछन् ।

पीडितहरुमा अधिकांश विराटनगर, झापा, दाङ, दोलखा, रामेछापका छन् । दलालहरुले खासगरी आफ्नो घरबासको क्षेत्रका मानिसलाई प्रभावमा पारेको देखिन्छ । कांग्रेसको स्थानीय नेतासमेत रहेका दाङका पीडित रेग्मीका अनुसार अधिकांश पीडित कांग्रेस पृष्ठभूमिका रहेको बताउँछन् ।

यही प्रकरणमा पक्राउ परेका रामेछापका पूर्व सांसद आङटावा शेपालाई अमेरिका जाने सपनाका साथ मोटो रकम बुझाएका दोर्जी शेर्पा आफ्नो सबै सपना सकिएको बताउँछन् । वडादेखि सिंहदरबारसम्म दलालको वर्चस्व रहेको तीतो अनुभव पीडितहरुको छ । दलालहरुको सञ्जाल चारैतिर डरलाग्दो भएकाले उनीहरुलाई कारवाही होला भन्नेमा अझै सन्देह छ ।

दोर्जीलगायत ८० घर परिवारले आङटावा शेर्पालाई प्रत्येक परिवारले ८ लाखको दरले रकम बुझाएका छन् । यही मेसोमा रकम बुझाउने अर्का पीडित दाफुटी शेर्पाको व्यथा पनि उस्तै छ । पहिलो भेटमै १ लाख रुपैयाँ दलाललाई बुझाएको दाफुटी शेर्पा बताउछन् ।

अर्का पीडित काठमाडौंका रामशरण केसीले आफ्नै घर बन्धकी राखेर प्रतीक थापालाई डेढ करोड बुझाएको बयान दिएका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाको छोरा प्रतीक अहिलेसम्म फरार छन् ।

कानून व्यवसायीहरुको छाता संगठनका नेताहरुले अदालतमा हाईप्रोफाइलहरुको तर्फबाट बहस गर्ने निधो गरेका छन् । उनीहरुले यी सबै प्रकरणमा आफ्नो संलग्नता इन्कार गरेका छन् । दोषी उम्कनुहुन्न, निर्दोष फस्नुहुन्न त्यो एउटा मान्यता हो । तर, राजनीतिक स्वार्थको रोटी सेकाउन जे पनि गर्न तयार हुने राजनीतिक नेतृत्वको कार्यशैलीप्रति भने शंका कायमै छ ।


प्रतिकृया दिनुहोस्