काठमाडौं, जेठ २१- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगा दिने सम्झौता भएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालका अनुसार भारत सरकारले उपहारस्वरुप दिन लागेका मुर्रा जातका राँगालाई नेपाल ल्याएपश्चात् कृत्रिम गर्भाधानका लागि पोखरा र लहानमा राखिने भएको छ ।
उनले नेपाल ल्याएपश्चात् ती राँगालाई पशु सेवा विभागअन्तर्गत पोखरा र लहानमा रहेका भैँसी प्रजनन् केन्द्रमा राखिने बताए ।
विभागका अनुसार नेपालमा मुर्रा जातका भैँसीहरु अहिले पनि पालिएका छन् । लामो समयदेखि एउटै प्रकारले प्रजनन् भइरहकेकाले नश्ल सुधारका लागि उन्नत जातका राँगा ल्याउन नेपालले लामो समयदेखि प्रयास गरिरहेको थियो ।
मुर्रा उन्नत २० राँगाको जातमध्येको एक हो र यसको सबैभन्दा उत्कृष्ट गन्तव्य दक्षिणी भारत हो । नेपालले भारतसँग २०७३ सालदेखि खरिद नै गरेर ल्याउने गरी मुर्रा राँगा माग गरिरहेको डा. ढकाल बताउँछन् । तर, भारतको रैथाने अनुवांशिक वस्तु अन्यत्र लैजान कडा नीति भएका कारण सात वर्षसम्म पनि यो प्रयास सफल नभएको उनको भनाइ छ । पोखरा र लहानमा रहेका प्रजनन् केन्द्रबाट मुर्राको वीर्य उत्पादन तथा वितरण गरी विभिन्न सरकारी कृषि फार्महरुमा पुर्याइनेछ ।
यसबाट नेपाली भैँसीहरुको नश्ल सुधार तथा दूधको उत्पादन पनि बढाउन सकिने विभागको अपेक्षा छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार १५ वटा मुर्रा राँगाको मूल्य झन्डै ४५ लाख रुपैयाँ हुन आउँछ ।
उनका अनुसार नेपालले कम्तिमा २० वटा राँगा खरिद गरेरै ल्याउने गरी दुई वर्षयता सोहीअनुसारको बजेटको अनुमान गरेको थियो । भारतले सबै व्यवस्था मिलाएपश्चात् पशु सेवा विभागबाट प्रतिनिधिहरु ती राँगाको स्वास्थ्य परीक्षणका लागि पुग्नेछन् ।
यसले दैनिक १० देखि १६ लिटरसम्म र एक बेतमा २७० देखि ३०० दिनसम्म दूध दिने गरेको पाइन्छ, जुन सामान्य तथा स्थानीय जातका भैँसीभन्दा बढी हो । भारतमा यसको मूल्य ६० हजारदेखि एक लाख ३० हजार रुपैयाँ भारुसम्म पर्ने गरेको छ ।
मुर्रा भैँसी विशेषगरी दुई प्रकारका हुन्छन्, ग्रेडेड र शुद्ध मुर्रा । ग्रेडेड मुर्राको मूल्य ६० देखि ७० हजारसम्म पर्छ भने शुद्ध मुर्रालाई भारतका व्यावसायिक फार्महरुले ७० हजारमाथि एक लाख ३० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।
त्यसमा पनि यदि मुर्राले पाडी (भैँसीको पोथीबच्चा) पाएको खण्डमा त्यसको मूल्य बढी हुन्छ । किनकि, पाडी ३६ देखि ४८ महिनामा दूध दिने भैँसीको रुपमा विकास हुन्छ ।