काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले सचिव रघुवीर महासेठबीच चेटवार्ता भएको छ । सत्ता गठबन्धनको बैठक अघि आज दिउँसो प्रचण्डलाई भेट्न खुमलटार पुगेका महासेठ र प्रचण्डबीच पछिल्लो सत्ता समीकरणको विषयमा छलफल भएको छ ।
सत्ता गठबन्धनको बैठक बस्नुअघि एमाले सचिव महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । महासेठ प्रचण्डलाई भेट्न दिउँसो १ बजे खुमलटार पुगेका थिए भने अहिले सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।
पछिल्ला दिनमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरू पनि प्रचण्डसँग संवादमा रहेका छन् ।उनीहरू एमाले र माअोवादी केन्द्र मिलेर सरकार बनाउनुपर्ने पक्षमा रहेका छन् । त्यसैअनुसार लविङमा रहेका नेताहरूको सूचीमा सचिव महासेठ पनि थपिएका छन् ।