काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानिय निर्वाचनमा गठबन्धनले ५ जनाको हत्या गरेको आरोप लगाएका छन् । आज सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले छिमेकीको घरमा लास सुताएर अबिर जात्रा मनाएको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले घण्टी बजाउँदा आत्तिएको टिप्पणी पनि गरेका छन् । उनले भने, ‘ढ्याङ्ग्रो पनि बजाएको छैन । एउटा घण्टी बजाउन पनि नदिने । अनि ढुंगा हान्न जाने । दमा, नसिंङ्गा बजाएको पनि होइन ।’
चुनाव लड्न आउनेलाई दिनुपर्ने उनले बताए । राणा शासन र राजतन्त्र जनताले फालेको उल्लेख गर्दै गठबन्धनलाई आगामी निर्वाचनबाट फाल्ने ओलीको तर्क छ । उनले गठबन्धन देशका लागि अभिसाप भएको बताएका छन् ।
यस्तै ओलीले अरू पार्टीका चुनावी घोषणापत्र कार्यान्वयन गर्न नभइ जनता ढाँट्न ल्याएको बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका पार्टीहरूले फरक फरक घोषणापत्र ल्याएकाले उनीहरूले कार्यान्वयन गर्न नसक्ने बताएका हुन् । उनले एमालेले देश बनाउने गन्तव्य अघि सारेको भन्दै एमालेले नै मेलम्चीको पानी ल्याएको दावी गरेका छन् ।
उनले राम लक्ष्मण जन्मेको ठाउँमा आफूले रामजन्म भूमि ल्याउँदा माओवादीका अध्यक्ष प्रचण्डले गरेको टिप्पणीप्रति कटाक्ष गर्दै भने, ‘एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठायो, लखेट्ने भो भने । मलाई थाहा थियो एमालेसँग दुश्मनी गर्ने पनि सिद्धिन्छन् । सीता, राम, लक्ष्मण, हनुमानसँग दुश्मनी गर्ने सिद्धिन्छन्। चुप लागेको भए हुन्थ्यो दुश्मनी गरे ।’ ओलीले त्यसो भन्ने नेता उकालोतिर लागे भन्दै प्रचण्डलाई संकेत गरेका छन् । उनले वियरका बोतलले अर्काको टाउकोमा हान्ने हो डेमोक्रेसी भन्दै प्रश्न समेत गरेका छन् ।