Hamro Sanchar

कोसीको भँगालो बस्तीमा पस्यो, २० हजारभन्दा बढी स्थानीय विस्थापित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १८ गते


Advertisement

सुनसरी, साउन १८- अविरल वर्षाका कारण कोसी नदीको बहाब बस्तीमा प्रवेश गरेपछि सयौं घर परिवारको बिचल्ली भएको छ ।

अविरल वर्षातसँगै नदीमा पानीको बहाव बढेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका सयौं घर परिवारको बिचल्ली भएको हो ।

सप्तकोसीको चतरा पुल मुनिको डुर्मिबोटेबाट कोसी फुटेर उदयपुरको बेलका नगरपालिका प्रवेश गरेको छ ।

सप्तकोसीमा बाढी आएको समयमा भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण डुर्मिबोटेबाट श्रीलंका टापुको खेतियोग्य जमीन र मानव बस्तीमा पनि बाढि प्रवेश गरेको छ ।

कोसी पश्चिमतर्फ फर्किएपछि सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका बासिन्दा आतंकित भएका छन् ।

भारतले कोसी ब्यारेजका ढोका नखोलेकै कारण कोसी ३९ वर्ष पश्चात पश्चिमतर्फ फर्किएको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले कोसीको बाँध फुटेर पश्चिम तर्फ प्रवेश गर्दा हजारौं घरपरिवारका जनताको बिचल्ली भएको बताए ।

स्थानीयहरू घरमा पालेका राँगा-भैंसी, सुँगुरलगायत चौपायासहित झिटीमिटी बोकेर हिँडिरहेका छन् । डुबानमा फसेकाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरिरहेका छन् ।

उनकाअनुसार उदयपुरको बेलका नगरपालिकाका १, २, ३, ८, ९ वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेका छन् ।

कार्कीका अनुसार यो क्षेत्रमा करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन् ।

कोसीको बाढी डुर्मिबोटे हुदै सिसौलीघाट, धौरी टापु, चिलिमे, श्रीलंका टापु तर्फ प्रवेश गरेपछि यहाँका सयौं घर बाढिको उच्च जोखिममा परेका छन् ।

तत्काल कोसी ब्यारेजका सबै ढोका नखोलिए श्रीलंका टापुका बासिन्दाको ज्यान जोखिममा पर्ने भन्दै स्थानीयले ब्यारेजका सबै ढोका खोल्न र बाँध फुटेको कोसी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।


प्रतिकृया दिनुहोस्