
काठमाडौं, फागुन १३- काठमाडौंका दुई र भक्तपुरका तीन नगरपालिका समेटेर बन्ने भनिएको स्मार्ट सिटीको योजनालाई कार्यान्वयन गराउन सात सदस्यीय समिति गठन भएको छ । नगरकोटमा आयोजित काठमाडौं पूर्वका ६ वटा नगरपालिकासहित सरोकारवालाको बैठकले स्मार्ट सिटीको योजनालाई कार्यान्वयन गराउन सात सदस्यीय कमिटी गठन गरेको हो । समितिको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की र उपसंयोजकमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा रहेका छन् ।
त्यस्तै, अन्य सदस्यहरुमा चाँगुनारायण नगरपालिकाबाट प्रमुख जीवन खत्री, पिआईडिका राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका विकास प्राधिकरणका नवराज प्याकुरेल, केयूकेएलका डिपी चापागाई र अधिकार सम्पन्न बाग्मती सम्यता विकास समितिका प्रमुख रविन्द्र बोहरा रहेका छन् ।
समितिले नेपाल सरकारको सहमतिमा योजना कार्यान्वयन गराउन र देखिएका समस्या समाधान गर्न गर्न पहल गर्नेछ ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख तथा समितिका संयोजक कार्कीले कागेश्वरी मनोहरा क्षेत्रमा स्मार्ट सिटीको लागि भनेर जग्गा रोकेर राखेको भएपनि अहिलेसम्म बन्न नसक्नाले जनताको विश्वास कम हुँदै गएको बताए ।
पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने योजना छ । तर यो योजना विगत सात वर्षदेखि अलपत्र छ ।
बैठकले स्मार्ट सिटीको लागि भनेर जनताको जग्गा लामो समय रोकिनु नहुने, सरकारको सहमति र बजेट ब्यवस्था नहुने हो भने जनताको रोक्का जग्गा फुकुवा गरेर वैकल्पिक विकासका अवधारणहरु ल्याउनुपर्ने निर्णय गरेको छ ।
इशान शहर
काठमाडौंको पूर्वउत्तरतर्फ प्रस्तावित ‘इशान’को किल्ला पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, भत्केको पाटी, चरेली, कलमसी र नगरकोट जंगल हुँदै तेलकोट भन्ज्याङसम्म छ । पश्चिमतर्फ जोरपाटी क्रिकेट स्टेडियम, मूलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटोसम्म छ ।
उत्तरतर्फ क्रिकेट मैदानदेखि साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुवारी, घट्टेखोला हुँदै तेलकोटसम्म र दक्षिणमा भक्तपुर पुरानो बाटोसम्म छ ।
यो शहरले कागेश्वरी मनोहरा नगरपालिकाको ४, ५, ६, ७, ८ र ९ नम्बर वडा, शंखरापुर नगरपालिकाकाको ५, ६, ७ र ९ नमबर वडा, भक्तपुर नगरपालिकाको २, ६ र १० नम्बर वडा, मध्यपुर थिमी नगरपालिकाको २, ६, ७, ८ र ९ नम्बर वडा र चाँगुनारायण नगरपालिकाको १, २, ३, ४ ५ नम्बर वडाको पुरै भाग र ६, ७, ८ केही भाग समेट्छ ।
यो आयोजनाको कूल लागत २८६ अर्ब २५ करोड रुपैयाँ छ । एक लाख ३ हजार ५०० रोपनी जग्गा समेट्ने यो शहर योजना अनुसार बनेमा २० हजार ४४२ रोपनी क्षेत्रफलमा सडक बन्नेछन् ।
आग्नेय शहर
काठमाडौंको पूर्व दक्षिणमा प्रस्तावित ‘आग्नेय’ शहरको पूर्वतर्फ सिर्जना नगर चोकदेखि अरनिको राजमार्ग, घ्याम्पेडाडा सडक, सूर्यविनायक जंगलको फेदी हुँदै गुण्डु बसपार्कसम्म सीमा तोकिएको छ । पश्चिमतर्फ विरुवा बसपार्कदेखि सुम्लिङटार चारबाटो चोक हुँदै गाम्चाचोक हर्षचोक, हनुमन्ते पुल हुँदै थिमी विरुवा रोडसम्म र उत्तरतर्फ हनुमन्ते पुल, सिर्जना चोकससम्म किल्ला तय गरिएको छ ।
दक्षिणतर्फको सीमा गुण्डु बसपार्कदेखि अनन्तलिंगेश्वर महादेव तर्खगाल हुँदै विरुवा बसपार्कसम्म फैलिएको छ । यो किल्ला भित्र सूर्यविनायक नगरपालिका अन्तर्गतका १, ४, ५, ६ र ७ नं. वडाका भागहरु समावेश छन् । रु.२३ अर्ब २५ करोड लागतको यो शहर १८ हजार ५७१ रोपनीमा फैलिनेछ ।
त्यसमध्ये ३ हजार ५०४ रोपनी क्षत्रेफल सडकमा उपयोग हुनेछ भने ९९६ रोपनी खुला क्षेत्र रहने छ ।


















