
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेतृ तथा उद्यमी कुन्ती पोखरेलले सहकारी भनेको आर्थिक कारोबार गर्ने संस्था मात्र नभई आपसी भरोसाको जग, एकअर्कालाई उकास्ने ऊर्जा र समाजलाई जोड्ने बलियो सेतु भएको बताएकी छन् ।
शनिबार सर्वप्रीय पञ्चकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
पोखरेलले भनिन्, ‘सहकारी भनेको आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, यो एक सामाजिक संगठन पनि हो, जसले सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउँछ । सहकारीले सदस्यहरुको हितलाई प्राथमिकता दिएर काम गर्दछ र उनीहरुको जीवनस्तर सुधार्ने उद्देश्य राख्दछ ।’
यस्तै उनले सहकारीमा हामीले बचत गर्दै सम्भावना जम्मा गरिरहेको बताईन् । उनले थपिन्, ”हामीले बचत मात्र गरिरहेका छैनौं, हामी सम्भावना जम्मा गरिरहेका छौं । हामीले ऋण मात्र लगानी गरिरहेका छैनौं, हामीले सपनामा साथ दिइरहेका छौं । यही नै सहकार्यको सुन्दरता हो ।”
उनले संस्थालाई सहकार्य, विश्वास र पारदर्शितासँग अगाडि बढ्दै, अझ सक्षम सहकारी बनाउने तर्फ लाग्न सुझाव र शुभकामना दिइन् ।


















