
काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
मंगलबार पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको टोलीले काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको हो । पार्टीको नाम कम्युनिस्ट पार्टी, नेपाल प्रस्ताव गरिएको छ ।
निर्वाचन आयोगले प्राप्त निवेदन र संलग्न कागजातहरूको अध्ययन गरी आवश्यक प्रक्रिया पूरा भएपछि दल दर्तासम्बन्धी निर्णय लिनेछ ।
एक समय सशस्त्र गतिविधि सञ्चालन गरेको र सरकारको प्रतिबन्धमा समेत परेको पार्टीले मूलधारको राजनीतिमा आउने तयारीस्वरूप मंगलबार आयोगमा निवेदन पेस गरेको हो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे शान्ति सम्झौता गर्दै भूमिगत राजनीति छाडेर शान्तिपूर्ण मूलधारमा आएको विप्लव नेतृत्वको पार्टीले यसअघि निर्वाचन प्रक्रिया र संसदीय व्यवस्थाको आलोचना गर्दै आएको थियो ।

















