
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् ।
नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् । शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री कार्कीले सपथ ग्रहण गरेपछि सुदनले कार्कीको खुट्टा ढोगेका थिए
प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार सार्वजनिक भएको छ ।
तर सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्ट छ ।
सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन् । ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् ।
सुदनका समर्थकहरुहरुले आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै आक्रोशित भएका थिए ।
युवाहरु नाराबाजीमा उत्रिएपछि प्रधानमन्त्री निवास अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।

















