
काठमाडौं, पुस २०- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एकपटक देशको नेतृत्व गर्ने लक्ष्य राखेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै विप्लवले नेकपाले क्रान्तिकारी ध्रुवीकरणमार्फत देशको नेतृत्व र सेवा गर्न चाहेको उल्लेख गरे । उनले पार्टीको हालको एकता केवल सुरुवात भएको बताउँदै आगामी दिनमा थप एकताका अभियानहरू अघि बढ्ने विश्वास व्यक्त गरे ।
विप्लवले नेकपाको एकता कुनै दरबार खान, टिस्टेट उपभोग गर्न, जग्गा हिनामिना गर्न वा मन्त्री भएर देशको पैसा विदेश पठाउनका लागि नभएको स्पष्ट पारे ।
उनले अन्य राजनीतिक दलहरूका नेताहरूले विदेशमा पैसा पठाएको आरोप लगाउँदै भने, “हाम्रो देशको पैसा विदेशमा टनाटन छ । हाम्रो अभियान भनेको देशको समृद्धि र स्वाभिमानका लागि हो ।”
उनले देशका लागि क्रान्तिकारी ध्रुवीकरण आवश्यक रहेको भन्दै पार्टीले यो जिम्मेवारी पूरा गर्न प्रतिवद्धता जनाउँदै आएको सुनाए । विप्लवले भने, “हामी क्रान्तिकारीहरूले यो देशको नेतृत्व गर्न चाहन्छौं । अहिलेको एकता सुरुवात मात्र हो, तर यसले ठूलो परिवर्तनको ढोका खोल्नेछ ।”
महासचिव विप्लवले अरू राजनीतिक दलहरूले अघि सारेका ध्रुवीकरण र एकताका प्रयासमा नयाँपन नरहेको टिप्पणी गरे । उनले नेकपाको उद्देश्य देशको स्वाभिमान र समृद्धिका लागि नेतृत्व गर्नु भएको भन्दै अन्य दलका एकताभन्दा आफ्ना प्रयास फरक भएको दाबी गरे ।