Hamro Sanchar

रवि लामिछानेलाई भैरहवा ल्याइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २७ गते


Advertisement

रुपन्देही । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवामा ल्याइएको छ ।

उनी आएको बुद्ध एयरको विमान १२ः२० मा पोखराबाट भैरहवामा ल्याण्ड भएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा ल्याइएको हो ।

पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि मौसम खराब भएकाले उडानमा ढिलाइ भएको हो। लामिछानेलाई ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उनलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन थालिसकेका छन् भने विमानस्थलमै पुगेर पनि समर्थकहरुले प्रदर्शन गरिरहेको रास्वपा प्रदेश अध्यक्ष देवराज पाठकले बताए ।

उता सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शनको तयारीका लागि पुगेका छन् । उनीहरुले ११ बजेदेखि प्रदर्शन गर्ने सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले जनाए । उनले कसैको समर्थन र विरोधभन्दा पनि आफूहरुले न्यायका लागि विरोध गरेको बताए ।

रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गर्ने बताएका छन् । उनका अनुसार सकेसम्म आजै बयान सक्ने तयारी भएपछि पोखराबाट आउँदा नै ढिलाई भएकाले आजै पूरा नहुने भएको छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ ।

लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानमा देखाइएको छ । रास्वपा र सुप्रिम पीडितहरुले भैरहवाकेन्द्रित भएर प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले बुद्धचोक, लुम्बिनी गेट, जिल्ला अदालत र सरकारी वकिल कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणाको तयारी गरिरहेको छ ।

सोमबार दिनभर सुरक्षा संयन्त्रको बैठकले सम्भावित प्रदर्शनको आकलन र विश्लेषण गरिरहेको र आवश्यकताअनुसार मंगलबार नै निषेधित क्षेत्र घोषणा गर्ने गरी निर्णय भएको सुरक्षास्रोतले जनाएको छ ।

लामिछानेसँगै रूपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल बञ्जाडे जोशीलाई पनि यसअघि नै भैरहवा ल्याएर बयान गरेर कास्कीमै लगिएको छ ।

विमानस्थलमा राष्ट्रिय झण्डा बोकेका सयौं समर्थकहरुले विमानस्थल बाहिर नाराबाजी गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्