
काठमाडौँ, चैत ९- सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो ।
‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविराम नेपालीले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्तिको नाममा लगिएका वा लाने प्रयत्न गरिएका राज्यको नाममा रहेको सम्पत्ति सरकार मातहत ल्याउने अभियान थालनी भैसकेको बताए ।
२०४४ साल भदौ ५ गते ६ रोपनी र २०४४ मंसिर १८ गते पुनः ४ रोपनी जग्गा च्याम्पियन फुटवेयर कम्पनीको नाममा लगेको भेटिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।













