काठमाडौं, पुस १४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ मा रहेको श्री आनन्द भैरव माध्यमिक विद्यालयले ४२औं बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार मनाएको छ ।
विद्यालयले नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।
विद्यालयले सो अवसरमा एसइई तथा कक्षा १२ मा उतिर्ण विद्यार्थीलाई सम्मान तथा बिदाईसमेत गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर थापाको सभाध्यक्ष तथा नगरप्रमुख कार्कीकाे प्रमुख आतिथ्यता, नगर उप-प्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, शिक्षा शाखा प्रमुख गोबिन्द प्रसाद शर्मा, वडाअध्यक्ष भिमसेन थापा तथा प्रधानाध्यापक सरस्वती थापा कार्कीको बिशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालयका संस्थापक सदस्य तथा समाजसेवीहरुको आतिथ्यमा रहेको थियो ।
कार्यक्रममा प्रधानाध्यापक सरस्वती थापा कार्कीले वार्षिक प्रतिवेदन पेश गर्दै भावी महत्वाकांक्षी योजनाहरुसमेत प्रस्तुत गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक कार्कीले विद्यार्थीको संख्या उल्लेख्य रहेको जानकारी दिँदै विद्यालयमा स्मार्ट बोर्ड, इसिडी कक्षा संचालन, अपाङ्गमैत्री शौचालय, बालमैत्री डेस्कबेन्च, इन्टरनेट, सुविधायुक्त पुस्तकालय रहेको बताइन् । उनले विद्यालयमा विद्यार्थीहरुको संख्याअनुसार भौतिक संरचना नभएको भन्दै वडाभित्रै ७ रोपनी २ पैसा जग्गामा सुबिधा सम्पन्न भवन निर्माण गरेर गुणस्तरीय शिक्षा उपलब्ध गराउने योजना रहेको जानकारी दिइन् ।
कार्यक्रममा प्रमूख अतिथि नगरप्रमुख कार्कीले आफ्नो रुचि चाहनाअनुसार गरे सबै काम सम्पन्न हुने र शिक्षाले मानिसलाई हरेक परिस्थितिमा उत्प्रेरित गर्ने बताए । उनले आनन्द भैरवले पछिल्लो समय हरेक क्षेत्रमा सोचेअनुरुपको सफलता हासिल गरेको भन्दै खुसी व्यक्त गरे ।
नगरप्रमुख कार्कीले शिक्षा नै विकासको मेरुदण्ड भएकोले विद्यार्थीहरुले सङ्घर्ष गरेर शिक्षा आर्जन गर्न निरन्तर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । नगरप्रमुख कार्कीले नगरपालिकाको पहिलो प्राथमिकता शिक्षा भएको र नगरले समग्र बजेटको १८ प्रतिशत रकम शिक्षामा छुट्याएको जानकारी दिए । उनले संस्कारसहितको गुणस्तरीय शिक्षाका लागि नगरपालिकाभरका विद्यालयमा योजनासहित काम सुरू भएको बताए । नगरप्रमुख कार्कीले शिक्षा क्षेत्र सुधार विना अन्य क्षेत्रको विकास सोचे जस्तो उपलब्धि पाउन कठिन हुनाले प्राविधिक शिक्षाबाटै अन्य क्षेत्रको सीपयुक्त जनशक्ति उत्पादन हुने भएकाले नगरपालिकाभित्र संचालित सबै सामुदायिक विद्यालयमा एक-एक विधामा प्राविधिक क्षेत्रमा लैजाने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा विद्यालयका विभिन्न प्रतियोगिता, खेलकुद र विभिन्न विधामा प्रथम, द्दितीय र तृतीय हुने छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि राखिएका थिए ।
विद्यालयमा १ हजार ८९ जना विद्यार्थी अध्ययनरत छन् ।
शिक्षक कृष्ण प्रसाद निरौलाद्धारा स्वागत मन्तब्य राखिएको कार्यक्रमका सभाअध्यक्ष तथा वि.वि.स. अध्यक्ष थापाले नगरपालिका र वडा कार्यालय विद्यालय प्रति थप जिम्मेवार भएको र अबका दिनमा पनि विद्यालयलाई थप सुधार र प्रतिफल ल्याउनेमा केन्द्रित रहेको बताए ।